पर्वत फलेवासका प्रदिप परियार नेपालकै कान्छा सहसचिव, निजामती सेवामा नयाँ रेकर्ड

03 Aug 2022

गण्डकी संचार (पर्वत) नेपाल निजामती सेवामा नयाँ रेकर्ड कायम गर्न भएको छ । पर्वत फलेवास नगरपालिका–५ खानीगाउँ निवासी प्रदिप परियारले खुल्ला प्रतिस्पर्धाबाट सहसचिव पदमा नाम निकालेपछि निजामती सेवामा नयाँ रेकर्ड कायम भएको हो । २०४६ साल वैशाखमा जन्मेका उनी ३२ वर्षको उमेरमा सहसचिव बनेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शाखा अधिकृतको रूपमा कार्यरत परियार खुल्ला प्रतिस्पर्धाबाट सहसचिव बनेका हुन् । २ जनाको लागि खुलाइएको सहसचिव खुला पदमा प्रदीप र गुल्मीका सुरेश पन्थीको नाम लोक सेवा आयोगको ८ चैतको बैठकले सिफारिस गरेको हो ।
परियारले निजामती सेवामा ९ वर्ष बिताएका छन् । १ वर्ष नायब सुब्बाको रूपमा काम गरेका उनीसँग पछिल्लो ८ वर्ष भने शाखा अधिकृतका रूपमा विभिन्न क्षेत्रमा बसेर काम गरेको अनुभव छ । अब भने उनले सहसचिवको रूपमा सेवा गर्नेछन्, सरकारले जहाँ खटाउँछ त्यसै क्षेत्रमा बसेर ।
परीक्षणकाल पूरा नगर्दै अधिकृत
निजामती सेवामा उनी २०६९ सालमा प्रवेश गरेका थिए । नायब सुब्बाको नतिजा आएकै वर्ष उनले शाखा अधिकृतमा पनि आवेदन दिएका थिए । निजामती प्रवेशको एक वर्ष परीक्षणकाल रहन्छ । तर परीक्षणकाल पनि पूरा नगर्दै उनी शाखा अधिकृत बन्न सफल भएका थिए । २०७० सालयता उनी शाखा अधिकृतको रूपमा कार्यरत थिए ।
एकै वर्षमा तीन पटक उपसचिवमा नाम
प्रदीपको यसै वर्ष तीन पटक उपसचिवमा नाम निस्केको थियो, लिखितमा । यो वर्ष उनले उपसचिव प्रशासनतर्फ आन्तरिक र खुला दुवैबाट आवेदन दिएकोमा दुवैमा नाम निस्केको थियो भने परराष्ट्रको उपसचिवमा पनि आवेदन दिएकोमा तीनै पटक लिखितबाट उनी पास भएका थिए ।

यद्यपि, उपसचिवको रूपमा भने उनले काम गर्नुपरेन, अन्तर्वार्ताबाट छनोट भएका थिएनन् । लगातार दुई वर्ष उनी सहसचिव खुलातर्फ नाम निकाल्न सफल भए । अघिल्लो वर्ष पनि उनले सहसचिव खुलामा नाम निकालेकोमा अन्तर्वार्ताबाट नाम छनोट हुन सकेको थिएन । यो वर्ष पनि लिखितमा नाम निस्केसँगै उनले अन्तर्वार्ताको तयारी गरे । गत १ चैतदेखि ८ गतेसम्म सञ्चालन भएको अन्तर्वार्तामा उनले नाम निकाल्न सफल भए ।

सामान्य परिवार, छात्रावृत्तिबाटै पढाइ
पर्वतको फलेवासमा सामान्य परिवारमा जन्मिएका हुन् प्रदीप । उनका बुवा–आमा अहिले पनि गाउँमै खेतीकिसानी र टेलरिङ पेसा गर्छन् । उनका दाइ वन अधिकृतको रूपमा सरकारी सेवामा कार्यरत छन् ।

प्रदीपले माध्यमिक तहको शिक्षा फलेवासल खानीगाउँकै सरकारी स्कुल भवानी विद्यापिठ माविबाट पास गरेका थिए । १ देखि १० कक्षासम्मको पढाइमा उनी कहिल्यै दोस्रो हुनु परेन । आफ्नै मिहिनेतले गर्दा उनले त्यसपछिको पढाइमा निरन्तर छात्रवृत्ति पाए । उनले शान इन्टरनेसनलबाट प्लस टु उत्तीर्ण गरे । स्नातक पब्लिक युथ क्याम्पस गरेका उनी अस्ट्रेलियाली सरकारको छात्रावृत्तिमा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट स्नात्तकोत्तर हुन् ।

’कामप्रति लगाव लोभलाग्दो’
प्रदीपका सहकर्मीहरू उनको कामप्रतिको लगावलाई सम्मान गर्छन् । उनैसँगै शाखा अधिकृतमा नाम निकालेका अर्घाखाँचीका सरोज पोखरेलले प्रदीपसँग प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सँगै काम गरेका थिए । अहिले उपसचिवको रूपमा कार्यरत पोखरेल भन्छन्, ’उहाँको कामप्रतिको लगाव अत्यन्तै सम्मान गर्न लायक छ, इमानदार र कामप्रति जवाफदेहिताको विषय उहाँबाट सिक्नुपर्ने पाठ हुन् ।’
प्रदीपसँग भेट भएलगत्तै छिट्टै माथिल्लो तहमा नाम निकाल्ने मूल्याङ्कन सरोजले गरेका थिए । ’सिर्जनशील व्यक्ति र सकारात्मक सोच उहाँका विशेषता हुन’, सरोजले भने, ’उहाँको मिहिनेत हेर्दा नै मलाई लागेको थियो, उहाँले चाँडै माथिल्लो तहमा नाम निकाल्नु हुनेछ ।’
गाउँ सँगै जिल्लावासीमा खुशीयाली
प्रदिप परियार सम्भवत नेपालकै कान्छो सहसचिव बनेपछि गाउँ सँगै जिल्लाबासीमा खुशीयाली छाएको छ । जिल्लाको फलेवास खानीगाउँ निवासी परियार दलित समुदायमा जन्मिएर नेपालकै कान्छो सहसचिव बनेपछि जिल्लाको पहिचानमा इट्टा थपेको भन्दै खुशीयाली मनाएका छन् ।
सर्वसाधरण नागरिक, विभिन्न पेशा व्यवसायीदेखि लिएर जिल्लाका साँसद, पालिकाका प्रमुख लगायत जिल्लाका राजनितिक दलका प्रतिनिधीहरुले फोन सँगै सामजिक संजाल मार्फत शुभकामना र बधाई व्यक्त गरेका छन् ।