युरोपस्तरीय भेला गर्दै अन्तर्राष्ट्रिय पर्वत समाज

03 Aug 2022

समृद्ध पर्वत भन्ने नाराका साथ स्थापित ‘अन्तर्राष्ट्रिय पर्वत समाज’ले युरोपस्तरीय भेलाको आयोजना गरेको छ । भेला स्पेनको ब्यापारिक शहर बार्सिलोनामा हुने भएको छ ।

अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसीको अध्यक्षतामा बसेको तेस्रो बैठकले आगामी वैशाख ४ र ५ गते (अप्रिल १७ र १८) स्पेनमा भेला गर्ने निर्णय गरेको हो ।

 

उक्त कार्यक्रममा युरोपमा बसोबास गर्ने पर्वतबासीका साथै अन्तर्राष्ट्रिय पर्वत समाजसँग आवद्ध देशहरूमा अमेरिका, यूके, मध्येपूर्वका देशसँगै ओशियाना र एशिया क्षेत्रबाट सहभागिता जनाइने संस्थाका अध्यक्ष केसीले बताउनुभयो । साथै, युरोपस्तरीय भेलाको तयारीका लागि तोकिएका साथीहरूले आफ्नो जिम्मेवारी लिएर काम सुरु गरिसकेको उहाँले बताउनुभयो ।

अध्यक्ष केसीका अनुसार भेला सम्पन्न गर्नका लागि अन्तर्राष्ट्रिय पर्वत समाजका युरोप संयोजक सन्तोष पौडेलको संयोकत्वमा आयोजक समिति गठन गरिएको छ । व्यवस्थापनको जिम्मा पर्वत समाजका स्पेन-अध्यक्ष दिनेश रेग्मीलाई दिइएको छ । कार्ययोजना तयारीका लागि संस्थाका उपाध्यक्ष स्वीडेननिवासी गुणराज शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ भने आर्थिक संकलनको लागि संस्थाका सह-कोषाध्याक्ष बेल्जियमनिवासी रुद्रमणी लम्साललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

भब्य भेलाको तयारी भइरहेको र सहभागिताका निम्ति विश्वभर रहनुभएका पर्वतेली दाजुभाइ-दिदीबहिनीहरूबाट स्वीकारोक्ति मिलेअनुसार व्यवस्थापनमा आफू जुटिरहेको युरोप-संयोजक पौडेलले जानकारी दिनुभयो भने युरोप भेलाको समापनपश्चात पर्वत समाज स्पेनको अधिवेशन पनि सोही स्थानमा गर्नका लागि आवश्यक तयारी पूरा भएको उहाँले बताउनुभयो ।

कोरोना कहरका कारण अन्तर्राष्ट्रिय पर्वत समाजले विगतमा गरिने भनिएको युरोपस्तरीय भेला स्थगित गरेको थियो । स्पेन बार्सिलोना भेलाबाट पर्वतेलीहरूले जिल्लामा संयुक्त लगानीको अवधारणा, परोपकारी काम र स्वास्थ्य क्षेत्रमा गर्न सकिने कार्यका विषयमा कार्ययोजना ल्याउने बताइएको छ ।

ज्ञातव्य छ, अन्तर्राष्ट्रिय पर्वत समाज पर्वतेलीहरूको साझा संस्था हो । पर्वत जिल्लामा जन्मिएर संसारभर छरिएर रहेका पर्वतेलीहरू यस संस्थामा आबद्ध छन् । अन्तर्राष्ट्रिय पर्वत समाजले पर्वत जिल्लामा विभिन्न परोपकारी काम गर्दै आएको छ ।