पर्वत पैयुँमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ५ सय १३ लाभन्वित

03 Aug 2022

गण्डकी संचार (पर्वत) । ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले पर्वतको पैयुँ गाउँपालिकामा निःशुल्क विशेषज्ञ सहितको स्वास्थ्य शिविर सम्पन्न भएको छ । अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पैयुँ गाउँपालिकाको व्यवस्थापनमा शिविर सम्पन्न भएको हो । शिविरमा करिव पाँच सय भन्दा बढिले सेवा लिएका छन् । पैयुँ गाउँपालिका–४ पैयुँ स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा ५ सय १३ जनाले स्वास्थ्य सेवा लिएका हुन् ।

शिविरमा पाठेघरको मुखको क्यान्सर परिक्षण, सेतो पानी बग्ने रोगको उपचार, स्त्री रोग सम्बन्धी स्वास्थ्य परिक्षण, पन्त परिक्षण तथा उपचार, दाँत निकाल्ने र साधारण रोगको परिक्षण तथा उपचार गरिएको थियो । शिविरमा सहभागी भएकामध्ये अधिकांश महिलामा पाठेघर खस्ने र तल्लो पेट दुख्ने, ढाड दुख्ने, ग्याष्टिकको समस्या र दाँत दुख्ने समस्या बढी देखिएको उपचारमा संलग्न जनरल चिकित्सक हेमन्त बास्तोलाले जानकारी दिए । शिविरमा पैयुँ गाउँपालिकाका सहित महाशिला र बिहादी गाउँपालिकाका स्थानीयले निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि उपचार गराएको कार्यक्रम संयोजक संगिता कार्की कुँबरले जानकारी दिईन ।

निशुल्क स्वास्थ्य जाँच र औषधि गरिने थाहा पाएपछि १ घण्टा पैदल यात्रा गरेर शिविरमा पुगेकी महाशिलाकी ७६ वर्षीया पवित्रा विकले बताइन् । लामो समयदेखि शरीर र छाती दुख्ने समस्याले उपचार शिविरमा पुगेकी हुँ । आर्थिक अभावले उपचार गराउन नसकेको उनी बताउँछिन् । ‘यहाँ आएर निशुल्क जाँच गर्न तथा औषधि पाउँदा खुशी लाग्या,े’ उनले भनिन् । स्थानीय भोजराज बस्यालले भने,‘निशुल्क स्वास्थ्य शिविर त कयौंवटा संचालन भएका थिए, त्यसमा चेकजाँच मात्र गरिन्थ्यो । तर आज सम्पन्न स्वास्थ्य शिविरमा चेकजाँचका साथै औषधि सहितको स्वास्थ्य शिविर गाउँमा पहिलो पटक भएको भन्दै खुशी व्यक्त गरे ।,’ गाउँघरमै निशुल्क शिविर सञ्चालन हुँदा स्थानीयलाई सजिलो भएको पाइएको छ । विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविरले दक्षिणका नागरिकहरु खुशी भएको अन्तराष्ट्रिय पर्वत समाजकी नेपाल संयोजक मुना भुषालले जानकारी दिईन । सामान्य खर्चको अभावमा उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उनको भनाई छ । उक्त शिविरको उद्घाटन गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले गरेका हुन् ।

अन्तराष्ट्रिय पर्वत समाजले शनिवार जलजला गाउँपालिकामा आयोजना गरेको थियो । जसमा २ सय १५ जनाले सेवा लिएका थिए ।अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसीले जलजला र पैयुँ गाउँपालिकामा आयोजना गरेको बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविरमा स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले जुन उद्देश्यले शिविरको आयोजना गरिएको थियो, त्यो पुरा भएको भन्दै शिविर आयोजना गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो ।