प्रवासी पर्वतेलीको सहयोगमा मिलनचोकमा स्वास्थ्य शिविर, २ सय १५ जनाले लिए निशुल्क सेवा

03 Aug 2022

पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरबाट दुईसय भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । अन्तराष्ट्रिय पर्वत समाजको आयोजना तथा स्थानीय जलजला गाउँपालिका समन्वयमा सञ्चालित एक दिने शिविरबाट २ सय १५ जनाले सेवा लिएका हुन् ।
शिविरमा स्त्रीरोग विशेषज्ञ धर्मदेव ढकाल,अनु हिराचन, दन्तरोग विशेषज्ञ कृष्ण सुवेदी र जनरल चिकित्सक हेमन्त बास्तोलाले सर्वसाधरणहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

शिविरमा एकसय ७५ जना महिला र ४० पुरुषले सेवा लिएको उपाध्यक्ष तथा कार्यक्रम संयोजक संगिता कार्की कुँबरले जानकारी दिनुभयो । शिविरमा निशुल्क स्वास्थ्य परिक्षण, परामर्श सेवा र औषधि वितरण गरिएको अन्तराष्ट्रिय पर्वत समाजकी नेपाल संयोजक मुना भुषालले बताउनुभयो । शिविरमा मल्लाझ, बासखर्क, लेखफाँट, सालिजा, धाइरिङ, बनौ र नाग्लिवाङका सर्बसाधरणहरुले सेवा लिएका थिए ।

शिविरको उदघाटन गर्नुहुँदै जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले पालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोमा धन्यबाद दिनुभएको थियो । उहाँले शिविरमा स्वास्थ्य परीक्षणका क्रममा गम्भिर प्रकृतिका विरामीहरु भेटिएमा थप उपचारका लागि पालिकाले सहयोग समेत गर्ने प्रतिबद्धत जनाउनुभएको थियो ।

प्रवासमा रहेर पनि जन्मभूमिको विपद् व्यवस्थापन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पर्वत समाजको ठूलो योगदान रहेको उहाँले बताउनुभयो । पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरिले विचार व्यक्त गर्नुभएको थियो । शिविरको उदघाटन सत्रको संचालन नविन जिसीले गर्नुभएको थियो ।
समाजकै आयोजनामा सोही शिविर आइतबार पर्वतको पैञ्यु गाउँपालिका हुवासमा सञ्चालन हुने भएको छ ।