कोरोनाको प्रभाव : प्रवासमा नेपालीहरुको अवस्था के छ ?

02 Aug 2022

विश्व भर फैलिएको कोरोना भाईरसका कारण यतिबेला विश्व समुदाय नै आतंकित बनिरहेको छ । चिनबाट संक्रमण देखिएको कोभिड १९ नामको भाइरसले विश्वका धेरै देशहरुमा संक्रमणको दर बढाईरहेको छ । विश्वका शक्तिशाली मानिएका देशहरुमा समेत संक्रमणका कारण विश्व स्वास्थ्य संगठनले नै स्वास्थ्य संकटकालको घोषणा गरीसकेको छ । चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ । पछिल्लो समय युरोपमा पनि कोरोनाको संक्रमण दिन दुगुना रात चौगुनाले वृद्धि भइरहेको छ । सबैभन्दा धेरै यूरोपको इटाली प्रभावित बनेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको प्रभाव अहिले बढी युरोपमा देखिएको छ । युरोपियन मुलुकहरुमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको हो । त्यो सबै युरोपियन मुलुकहरुमा इटालीबाट कोरोनाको प्रकोप फैलिएको देखिन्छ । युरोपको इटाली सहित जर्मनी, स्पेन, फ्रान्स, बेलायतलगायत थुप्रै देश कोरोनासँग जुधिरहेका छन् । कोरोना भाइरस तीव्र गतिमा विश्वव्यापी रुपमा फैलन थालेको छ । यसैविषयमा हामीले प्रवासमा रहेका नेपालीहरु कत्तिको सुरक्षित छन् भन्ने विषयमा हामीले प्रवासमा रहेका पर्वत समाजका प्रतिनिधीहरुलाई सोधेका छौँ । 

 

पुरन गिरी

अध्यक्ष

अन्तराष्ट्रिय पर्वत समाज, देश यूके

चीनबाट संक्रमण फैलिएको नोबल कोरोना भाइरस (कोभिड–१९) को फैलावट बढ्दै गएको छ । यसको प्रभाव बेलायत  (यूके)मा पनि देखिएको छ । पछिल्लो समय चीनमा कोरोनाको प्रभाव कम हुँदै गएको भएपनि युरोपमा भने भयावह रुपमा कोरोना फैलिरहेको छ । यस्तो अवस्थामा सवै नेपालीलाई सचेत रहन आग्रह गर्दछु । साथै नेपाली लगायत सम्पूर्ण पर्वतेली दाजुभाइ दिदि बहिनीहरुलाई सुरक्षित बस्न र बढि भिडभाड हुने ठाउँमा नजान अनुरोध गर्दछु । संक्रमणबाट नेपाली सँगै पर्वतवासीलाइ सुरक्षित रहन अपिल गर्दछु ।साथै कोरोना भाइरसको संक्रमणको कारणले मृत्यु भएका व्यक्तिहरुको आत्माको चीरशान्तीको  गदै संक्रमित व्यक्तिहरुको शिघ्र स्वास्थ्य लाभको लागि कामना गर्दछु । साथै यस प्रकोपबाट प्रभावित सबैमा सहानुभूति प्रकट गर्दछु ।

 

झलक केसी

बरिष्ठ यपाध्याक्ष

अन्तराष्ट्रिय पर्वत समाज

देश : बेल्जियम

बेल्जियममा करिव ८ हजारको हाराहारीमा नेपाली रहेका छन् ।  बेल्जियममा पनि कोरोना भाइरसको प्रभाव तीब्र बन्दै गएको छ । बेल्जियममा कोरोना भाइरस संक्रमितको संख्या १ हजार भन्दा बढि पुगेको छ  भने ५ जनाको मृत्यु भइसकेको छ । बेल्जियम सरकारले त्यहाँका स्कुल युनिभरसिटी होटल रेष्टुडेन्ट, लगायत सवै ठाउँ बन्द गरेको छ । मासिहरुलाई बढि भिडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ । बेल्जियम सरकारले कोरोना भाइरस रोक्न प्रयास गरेपनि नियन्त्रणमा आइसकेको छैन । तर, कोरोनाको प्रभाव नेपालीहरुमा भेट्टिएको छैन । यो सुखद पक्ष भन्नुपर्छ । यहाँ नेपालीहरु सुरक्षित छन् । कोरोना भाइरसको प्रभाव बढ्दै गएको छ । यो अवस्थामा सम्पूर्ण पर्वतवासी सँगै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई सचेत र सजग हुन म सवैलाई आग्रह गर्दछु । यतिबेला मुलुकमा कोरोना संक्रमणको ठुलो माहामारी आएको बताउँदै एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्न समेत म अपिल गर्दछु ।

  

नर रोका

अध्यक्ष

पर्वत समाज नेदरल्याण्ड

कोरोनाको प्रभाव नेदरल्याण्डमा पनि देखिएको छ । नदरल्याण्ड सरकारले सवैलाई घरमै बस्न र पारिवारिक जमघट समेत नगर्न भनेको छ । पसल तथा सामाजिक ठाउँहरु बन्द गराएको छ । स्कुल, कलेज, स्पोर्टस क्लवहरु सवै भन्दा भएको छ । त्यस्तै यहाँ आईतवारवाट उद्योगधन्दा पनि बन्द भएका छन् । खुल्ला सिमना रहेको नेदरल्याण्डमा भने रेस्टुरेन्ट, होटल तथा भिडभाडमा नजान सबैलाई अनुरोध गरिएको छ । अहिलेसम्म कुनै पनि नेपालीमा कोरोना सङ्क्रमण नभएको पुष्ट्रि भएको छैन । पर्वत समाज बेल्जियमको अध्यक्ष भएको नाताले मैले सबै नेपाली लगायत पर्वतवासीलाई सचेत रहन आग्रह गर्दछु ।

 

ठाकुर प्रसाद शर्मा ‘मनोहरी’

सल्लाहकार

अन्तराष्ट्रिय पर्वत समाज एवम् आइसिसि सदस्य एनआरएन नेदरल्याण्ड

आइसिसी सदस्य एनआरएन नेदरल्याण्डसंसारभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका नेदरल्याण्डमा पनि देखिएको छ । नेदरल्याण्डको स्वास्थ्य विभागको अनुसार पछिल्लो २४ घण्टामा एक सय ७६ नयाँ संक्रमित भएको पुष्टि भएको छ । जसमध्य आठ जनाको मृत्यु भएको छ । यस नयाँ तथ्यांकसंगै अहिले एक हजार एक सय ३५ जना संक्रमित भएका छन् । यहाँ करिव १ हजारको संख्यामा नेपालीहरु बसोवास गदै आएका छन् । र यहाँ नेपालीहरु सुरक्षित रहेका छन् । अहिलेसम्म कुनै पनि नेपालीमा संक्रमित भएका छैन । अहिलेसम्म डराउनु पने अवस्था आईसकेको छैन । तर, हजुरको मिडियावाट म नेदरल्याण्ड लगायत विश्वभरि रहेका नेपालीहरुलाई सुरक्षित रहन आग्रह गर्दछु ।

 

सागर सुवेदी

देश : अष्ट्रिया

पत्रकार एवं निवर्तमान सचिब अन्तराष्ट्रिय पर्वत समाज

अष्ट्रियामा ८६० जना नागरिकमा कोरोना संक्रमण भेटिएको, ६ जना निको भएर घर फर्केको साथै एक व्यक्तिको मृत्यु भएको छ । अष्ट्रिया प्रवेश गर्ने सम्पूर्ण देशका नाकाहरू सिल गरिएको छ । विश्वभर रहेका आफ्ना नागरिकलाई सकेसम्म छिट्टै घर फिर्ता हुन आग्रह गरेको छ । विश्वविद्यालयहरू बन्द गरिएको छ भने अष्ट्रियाका स्कुलहरूमा पढ्ने विद्यार्थीलाई घरबाट अनलाईनमै पढ्न सकिने ब्यवस्था गरिएको छ । सभा–सम्मेलनहरू हालका लागि स्थगित गरिएको छ भने समूहमा पाँच जनाभन्दा बढीको संख्यामा सँगै सडकमा हिँडेको पाइएमा नयाँ कानुनअनुसार कारवाही गरिने जनाइएको छ । अति आबश्यक कामबाहेक सम्पूर्ण रुपमा आफ्नो घरमै बसेर संक्रमणबाट जोगिन आग्रह गरिएको छ । यहाँ सुरक्षाका दृष्ट्रिकोणले निकै महत्वपूर्ण रुपले हेरिएको छ । यहाँ अध्ययन र रोजगारीको शिलशिलामा बस्ने नेपालीहरु सवै सुरक्षित हुनुहुन्छ । र सुरक्षित रहन म आग्रह गर्दछु ।

 

दुर्गा गुरुङ मिलन

सल्लाहकार अन्तर्रा्ष्ट्रिय पर्वत समाज एवम् अध्यक्ष पर्वत मंच हङकङ

मुखमा अनिवार्य मास्क, हातमा ग्लोबस र सेनिटाइजर हङकङको दैनिकी बनेको छ । हङकङका सधैं व्यस्त रहने र अत्यधिक चहल—पहल हुने स्थानहरू अहिले शून्य  छन । होटल, रेस्टुराँ खाली—खाली छन । मानिसमा त्रासदी छ, एकले अर्कोलाई शंकाको दृष्टिले हेर्छन । हावाको माध्यमले एकबाट अर्कोमा तीव्र रूपमा सर्ने कोरोनाको प्रकोपकै कारण सार्वजनिक स्थानहरूमा जमघट कम हुन थालेको छ । लगभग दुई महिनादेखि कोरोना भाइरसको सन्त्रास उस्तै छ । हरेक साता एउटा न एउटा कार्यक्रम गर्ने हङकङका नेपाली संस्थाका कार्यक्रम स्थगन भएका छन्न । अन्य देशमा जस्तै हङकङमा पनि नेपालीहरु सुरक्षित रहेको पाईन्छ ।

 

सुजन जोशी

अध्यक्ष

सचिव अन्तर्रा्ष्ट्रिय पर्वत समाज एवम् अध्यक्ष पर्वत समाज जापान

जापानमा कोरोना भाइरसबाट संक्रमितको संख्या बढेर हजार नजिक पुग्दा ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । कोरोना भाइरसको संक्रमण फैलिएको जापानको होक्काइदो तथा चिबा क्षेत्रमा आधा दर्जन प्राथमिक विद्यालयहरू बन्द भएका छन् । जापानभर कोरोना भाइरसको संक्रमण बढेपछि कैयौं जापानी कम्पनीले आफ्ना कर्मचारीहरूलाई अनलाइनमै घरमा बसेर काम लगाउन थालेका छन् । होटल लगायत करकारखाना बन्द छन् । सडकहरु सुनसान जस्तै छन् । नेपालीहरुको संख्या उच्च मात्रमा भएपनि हालसम्म कुनै पनि नेपालीमा यसको संकमण देखिएको छैन । जापानमा नेपालीहरु सुरक्षित छन् । पर्वत समाज जापानको अध्यक्षको हैसियतले सवैलाई सजग हुन आग्रह गर्दछु ।

 

शेषराज तिमिल्सिना

सचिव

अन्तराष्ट्रिय पर्वत समाज

कतारमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । कतारले आफ्नो देशका सबै विद्यालय र विश्वविद्यालयहरु बन्द गर्ने घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणको त्रासका सोमबार विज्ञप्ति निकाल्दै यही मार्च १० देखि नै लागु हुने गरी त्यहाँको सरकारले यस्तो घोषणा गरेको छ । कतारले यसअघि कोरोनाको संक्रमणबाट जोगिन नेपालसहित १४ वटा राष्ट्रबाट नागरिकको प्रवेश पनि रोक गरेको छ  । नेपालीको प्रमुख श्रम गन्तव्य कतारमा कोभिड(१९ (कोरोना) भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । कतारमा सवै नेपालीहरु सुरक्षित छन् ।

 

बाबुराम शर्मा

अमेरिका

सदस्य, अन्तर्रा्ष्ट्रिय पर्वत समाज

देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनिश्चितकालिन राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४१ जनाको ज्यान गइसकेको छ भने १६ सय भन्दा बढिमा यसको संक्रमण पुष्टि भएको छ । कोरोनाको त्रास फैलिएसँगै अमेरिकाले चीन भ्रमण गरेका कुनै पनि देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । तर, यहाँ त्यति अप्ठ्यारो स्थिती देखिको छैन । कोरोनाभाइरस सङ्क्रमणको प्रकोपबाट प्रभावित भएका मानिसलाई सघाउन दुईहप्ते तलबी बिरामी बिदा र तीनमहिने तलबी बिदाको व्यवस्था, बीमा तथा खाद्यान्न सहयोग लगाएतका सुविधाहरु उपलब्ध गराउने अमेरिकी सरकारले जनाएको छ ।प्रवासीहरुको अत्याधिक बसोवास रहेको अमेरिकामा अहिलेसम्म कुनै पनि नेपालीमा यसको प्रभाव देखिएको छैन । नेपालीहरु सुरक्षित छन् । हामीले पनि सामजिक सञ्जालवाट सचेतनाका कार्यक्रम संचालन गरेका छौँ ।